७ फागुन २०४९ मा कान्तिपुर दैनिकको प्रकाशन शुरू भएको केही दिनमै त्यसका प्रकाशक श्याम गोयन्काबाट 'पत्रिका छाप्न कागज किन्ने पैसा छैन' भन्ने सुनेपछि 'पत्रिका बन्द गर्नुहुँदैन' भन्दै कैलाश सिरोहिया अघि नसरेका भए शायद अहिले त्यो पत्रिका बन्द भएर विस्मृतिमा पुगिसकेको हुनेथियो। तर, कार्पेट व्यवसायबाट केही कमाएका हिम्मतिला सिरोहियाले त्यो बेला गोयन्कालाई ढाडस मात्र दिएनन्, प्रकाशक बन्ने जोखिम समेत मोले। त्यसैको परिणाम जनकपुरका सिरोहिया अहिले नेपालकै ठूलो सञ्चारगृह कान्तिपुर का अध्यक्ष भएका छन्।
भारतको चण्डीगढबाट एमबीए सकेपछि थप अध्ययन गर्ने मन हुँदाहुँदै दाइको फर्निचर उद्योग रेखदेख गर्न काठमाडौं आएका सिरोहियाले २०४५ देखि रु.५ लाखको लगानीमा कार्पेट व्यवसाय शुरू गरे। त्यो व्यवसाय चलिरहेको बेला जनकपुरकै गोयन्कामार्फत कान्तिपुर को व्यवस्थापनलाई भित्री सहयोग गर्न पुगेका उनी आर्थिक अभावले कान्तिपुर व्यवस्थापनबाट गोयन्का अलग्गिएपछि प्रकाशक बने।
निजी क्षेत्रबाट मिडियामा ठूलो लगानी नभइरहेको बेला पूँजी डुब्ने खतरा हुँदाहुँदै कान्तिपुर मा लगानी गर्न सिरोहियालाई त्यो बेला आँट दिने एउटै कुरा थियो, २०४६ को राजनीतिक परिवर्तनपछि राज्यले अवलम्बन गरेको खुल्ला नीति। उनी भन्छन्, “राज्यले त्यो नीति नलिएको भए कान्तिपुर जन्मिँदैनथ्यो।”
२०४७ को संविधानले निजी क्षेत्रलाई प्रोत्साहन गरे पनि त्यो अनुसारका कानून थिएनन् भने कर्मचारीतन्त्र पुरानै मानसिकतामा थियो। त्यसैले, कान्तिपुर को त्यो बेलाको यात्रा अहिले सोचे जस्तो सहज रहेन। एक लाइन टेलिफोन र एउटा फ्याक्स जोड्न संघर्ष गर्नु परेको सम्झँदै सिरोहिया भन्छन्, “सञ्चार निर्देशिकामा ठेक्कापट्टाको सूचना गोरखापत्र मा प्रकाशित भएको यति दिनपछि भन्ने व्यवस्थाले त्यस्ता विज्ञापन छाप्न निजी पत्रपत्रिकाले पाउँदैनथे।” तर उनी जस्ताको प्रयासले त्यस्ता सूचना अहिले निजी क्षेत्रका पत्रपत्रिकाले छाप्न पाउने भएका छन्।
निजी क्षेत्रका लागि अनुकूल वातावरण बन्दै गएपछि अरू मिडिया आउने क्रम बढ्यो भने कान्तिपुर र द काठमाडौं पोष्ट बाट शुरू भएको त्यो प्रकाशनगृह विस्तार भएर आधा दर्जन विभिन्न पत्रिका निकाल्न सक्ने बन्यो। यसरी, रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजन मा पनि लगानी गर्दै नामसँगै दाम कमाएका सिरोहिया भन्छन्, “माओवादी द्वन्द्व नभएको भए मुलुक धेरै अघि बढिसक्थ्यो।”
रामजी दाहाल
सराहनीय उडान
तस्वीर: मीनरत्न बज्राचार्य
२५ असोज २०५४ मा १८ सीटे एउटा 'बी १९०० डी' जहाजबाट उडान सेवा शुरू गरेको बुद्ध एअरसँग अहिले तीन वटा १६ सीटे, तीन वटा ४२ सीटे र तीन वटा नै ७२ सीटे गरी ९ जहाज छन्। जमिन धितो राखेर ३६ प्रतिशत व्याजमा रु.३६ लाख ऋण लिएर शुरू भएको यो कम्पनीको सम्पत्ति अहिले रु.८ अर्बभन्दा धेरै पुगेको छ भने वार्षिक कारोबार मात्रै रु.४ अर्बको छ। ७५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।
निजी क्षेत्रबाट नेपाली हवाई सेवा क्षेत्रलाई डेढ दशकमै यो आकारमा फैलाउन सफल बुद्ध एअरका प्रमुख वीरेन्द्रबहादुर बस्नेत (४८) का उपलब्धि अरू पनि धेरै छन्। मोरङमा जन्मेका उनले गृहजिल्लासहित सुनसरी र झापाको कृषिमा यान्त्रिकीकरण अभियान चलाएका छन्, जसमा १० हजार बिघा जमिन जोत्ने किसानहरूको ५० सहकारी २०७० सम्ममा सहभागी हुनेछन्। उनको त्यो अभियानले ती जिल्लामा चुपचाप कृषि क्रान्ति नै चलाएको मानिएको छ।
पूर्व मन्त्री सुरेन्द्रबहादुर बस्नेतका छोरा वीरेन्द्रको बुबामा जस्तै कृषिमा रुचि थियो। त्यही भएर भारतको बनारसमा अध्ययन गर्दा उनले कलकत्ता गएर माछाका भुरा उत्पादन सम्बन्धी तालीम पनि लिए। बुबा चाहिं २०४२ को त्यो बेला मोरङको डागीहाटमा आधुनिक प्रविधि अपनाएर खेती गर्दैथिए। भारतबाट फर्केपछि वीरेन्द्र पनि माछा खेतीमा लागे। जुन बेला उनले ५६ पोखरी खनेर वर्षमा ६० लाख भुरा बिक्री गरे।
स्नातकोत्तर पढ्न काठमाडौं आएपछि भने उनी गाउँ फर्केनन्। त्यसपछि लामो व्यावसायिक फड्को हानेका वीरेन्द्र भन्छन्, “चुस्त व्यवस्थापन, कडा मिहिनेत र धैर्यले म र बुद्ध एअरलाई यहाँसम्म पुर्याएको हो।”
२०४६ को राजनीतिक परिवर्तनपछि नियन्त्रित 'लाइसेन्स सिस्टम' र ब्यांकिङ असुविधा हटेर व्यवसाय गर्न सहज भए पनि राजनीतिक अस्थिरता बाँकी रहँदा निजी क्षेत्रले क्षमता अनुसार प्रगति गर्न नसकेको बताउने वीरेन्द्र भन्छन्, “चुनाव हुने र राजनीतिक अस्थिरता समाप्त हुने हो भने बुद्ध एअरले छिट्टै अन्तर्राष्ट्रिय उडान पनि शुरू गर्नेछ।”
डम्बरकृष्ण श्रेष्ठ
‘रेमिट्यान्स म्यान’
मुलुक खुल्ला अर्थतन्त्रमा नहेलिएको भए यतिबेला चन्द्र ढकाल (४७) को दिनचर्या राष्ट्रिय वाणिज्य ब्यांकको एउटा सामान्य कर्मचारीको रूपमा बितिरहेको हुने सम्भावना धेरै थियो। तर, अहिले उनी सफल व्यवसायीको कोटिमा छन्। यो सफलतामा उनले २०४५ देखि पाँच वर्षसम्म वाणिज्य ब्यांकको विशालबजार शाखामा काम गरेका अनुभवको योगदान अवश्य छ।
त्यसो त ढकालले २०४८ सालमै कार्गो र ट्राभल्स एजेन्सी शुरू गरिसकेका थिए। २०५० मा जागिर छाडेर व्यवसायमा पुर्णकालीन भएका उनले २०५६ मा आईएमई सेवा शुरू गरे। वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई हुण्डीको चर्को सेवाशुल्कबाट बचाउँदै ब्यांकिङ च्यानलमार्फत मुलुकमा रेमिट्यान्स भित्र्याउने श्रेय उनैलाई जान्छ। माओवादी द्वन्द्वका कारण पर्यटन व्यवसायसँगै निर्यात व्यापार पनि ठप्प भएको बेला ब्यांकिङ च्यानलबाट आएको रेमिट्यान्सले मुलुकलाई टाट पल्टिनबाट जोगाएको ढकालको भनाइ छ। उनको बुझाइमा, यो सबै २०४६ को राजनीतिक परिवर्तनपछि राज्यले अँगालेको खुला आर्थिक नीतिको परिणाम हो। “ब्यांक र फाइनान्स क्षेत्रले व्यापकता पाएको त्यसपछि नै हो”, बाग्लुङका ढकाल भन्छन्, “अर्थतन्त्रको गतिलाई माओवादी विद्रोहले अवरुद्ध नपारेको भए स्थिति योभन्दा धेरै फरक हुन्थ्यो।”
मुलुक हिंसात्मक द्वन्द्वमा फँसेको बेला आईएमई ब्राण्डले यति व्यापकता पायो कि आज 'रेमिट्यान्स भनेकै आईएमई' सरह भएको छ। ढकालले अहिले नेपाली पुगेका प्रायः सबै मुलुकबाट आईएमईमार्फत सीधै रेमिट्यान्स भित्र्याउने व्यवस्था मिलाएका छन्। उनले ग्लोबल आईएमई ब्यांक, माउण्ट पुमोरी एयर कार्गो, अक्रस ट्राभल्स, एलिट क्यापिटल, अक्सिजन ग्यास उद्योगलगायत आधा दर्जन कम्पनीको नेतृत्व सम्हालेका छन्। ग्लोबल ब्यांक–आईएमई फाइनान्स मर्जरबाट बनेको ग्लोबल आईएमई ब्यांकले ६३ शाखामार्फत देशभर सेवा पुर्याएको छ। यो निजी क्षेत्रका ब्यांकको सबभन्दा ठूलो सञ्जाल भएको ढकालको दाबी छ। गत असारमा उत्कृष्ट १० मा परेको यो ब्यांकले आगामी असारमा थप तरक्की देखाउने उनी बताउँछन्।
हात हालेका सबै क्षेत्रमा सफल ढकाल सवा दुई अर्बको लगानीमा थानकोट–चन्द्रागिरि केबुल कार सञ्चालनको तयारीमा छन्। उनको केबल कार परियोजनामा फन पार्क, भ्यू टावर र रिसोर्ट पनि जोडिएको छ।
रामजी दाहाल
